संक्षिप्त परिचय

तेह्रथुम जिल्लाको ईतिहास

तेह्रथुम जिल्लाको नामाकरण पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरी सकेपछि जग्गाको तिरोभरो उठाउने व्यवस्थासँग सम्बन्धित रहेको पाइन्छ। पृथ्वीनारायण शाहको एकिकरण अभियानको लागि पूर्व क्षेत्रमा खटी आएको अभिमान सिंह बस्नेत नेतृत्वको गोर्खाली सेनाले माझ किरात (खुम्बवान) क्षेत्रमा विजय गरेपछी वि.सं.१८३१मा गोर्खाली सैन्यका रामकृष्ण कुंँवरलाई लिम्बुहरूले चैनपुरमा बोलाई मेलमिलाप गरी आफूहरू नेपाल सरकारको आश्रयमा बस्न स्वीकार गरेका थिए। यसरी लिम्बुवान क्षेत्र नेपाल अधिराज्यमा समावेश भई सकेपछि गोर्खालीले लिम्बुहरूको रितिथिति तथा अन्य सामाजिक व्यवस्थामा खलल नगर्ने वचन दिएका थिए। लिम्बुवानमा प्रचलित थिति अनुसार किपटको अमालप्रथा यथावत थामियो। किपटको राजीनामा नहुने भयो। यहाँका सुब्बाहरूलाई पञ्चखत वाहेक अन्य मुद्दा मामिलाहरू हर्ने र “ठ्रि्रे मुग्रे” गरी दण्ड जरिवाना समेत गर्न पाउने अधिकार हुने गरी पृथ्वीनारायण शाहबाट लालमोहर बक्स भएको थियो। अव सत्रथुममा रहेको लिम्बुवान क्षेत्रको धनकुटा गौडा अन्तरगत रही तिरो भरो धनकुटा गौडामा बुझाउनु पर्ने भयो। पछि ब्रि्रम संबत १९५२ सालमा सत्रथुम मध्ये मित्लुङ्ग पहाड, जलहरा, बेलहरा, र छथर थुम धनकुटामा रही बाँकी आठर्राई, फेदाप, याङ्गरूप, पाँचथर, ताप्लेजुङ्ग, मेवाखोला, माईखोला, तमोर खोला, पाँचखप्पन, दशमझिया, चैनपुर, सभाउत्तर र संखुवा उत्तर गरी तेह्र (१३) थुमको तिरो उठाउने गरी तेह्रथुम मालको स्थापना भयो।

वि.सं.२०१८ सालमा नेपाल अधिराज्यलाई ७५ जिल्लाहरूमा विभाजन गरिंदा तेह्रथुम माल अन्तरगत पर्ने क्षेत्रलाई ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा र तेह्रथुम गरी चारवटा जिल्लामा छुट्याइयो। १३ वटा थुमहरू मध्ये यस जिल्लामा आठर्राइ,फेदाप, माईखोला र साविक धनकुटा जिल्लामा रहेको छथर थुमको पूर्वी भाग मात्रको क्षेत्रफल कायम रहे पनि साविक तिरो उठाउने माल अड्डा यसै जिल्लाको क्षेत्रमा परेको हुँदा यो जिल्लाको नाम पनि तेह्रथुम रहन गएको कुरा ऐतिहासिक तथ्यबाट पुष्टी हुन्छ। वि.सं. २०१८ साल पछि यस जिल्लामा कायम भएका ४२ गाउँ पञ्चायतहरू मध्येबाट तांखुवा र परेवादिन दुई गाउँ पञ्चायतहरू धनकुटा जिल्लामा गाभिन गएको छ भने निगुरादिन, फूलवारी, हाङ्गपाङ्ग, चांगे गरी ४ वटा गाउँ पञ्चायतहरू (आठराई थुम अन्तरगत क्षेत्रबाट) र ढुंगेसाँघु, साँघु, फाकुम्वा, थिंलावु ४ वटा गाउँ पञ्चायतहरू (माईखोला थुम क्षेत्रबाट) ताप्लेजुङ जिल्लामा गाभिन गएको छ। यसरी हालको तेह्रथुम जिल्लामा आठर्राई,फेदाप र छथर थुम क्षेत्र अन्तरगत पर्ने बाँकी क्षेत्रहरूमात्र रहेको छ। तत्कालिन १३ वटा थुमहरूको प्रशासकीय केन्द्रको रूपमा रहेको तेह्रथुम जिल्लालाई हाल राजनीतिक रूपमा १ निर्वाचन क्षेत्र, ३२ गाविस र ११ वटा इलाकामा बाडिएको छ।

 


Skip to toolbar